काकडभिट्टा । भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी—काठमाडौँ बस सेवा बुधबारदेखि सञ्चालनमा आएको छ । पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहने गरी उर्वन परीवहन सर्भिस प्रा.लि.ले भारतीय नम्बर प्लेटको सवारी साधनबाट सेवा सुरु गरेको हो । ग्रीनलाइन कम्पनीको एसी जडित सुविधा सम्पन्न डब्लु बी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गरेको हो । नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौता अनुरूप बस सेवा सुरु भएको हो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो ।यसअघि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन अन्तर्गत नेपाली नम्बर प्लेटको सवारी साधनले निरन्तर सेवा प्रदान गरिरहेको छ । भारतीय नम्बर प्लेटको सवारी साधनले बुधबारबाट सुरु गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनुभयो ।सिलिगुडीबाट काँकरभिट्टा आइपुगेको बसका चालक, सहचालक, परिचालकसहित यात्रुहरुलाई पूर्वीनाकामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, सशस्त्र प्रहरी बल नेपाल विओपी काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, मेचीनगर वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीलगायत अन्य व्यवसायीहरुले नेपाली ढाकाको टोपी र खादासहित फूलमाला पहिर्याएर यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक महत्तोले सवारी चालक, परिचालक, सहचालकहरुलाई नेपालमा विद्यामान यातायात सम्बन्धी कानुन तथा ट्राफिक नियमका बारेमा प्रशिक्षण मूलक विचार राख्नुभएको थियो । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीचको सम्बन्ध अझ राम्रो हुनु तथा त्यसतर्फका यात्राुलाई सुविधा मिल्ने बताइएको छ ।
तेन्जिङ्ग नोर्गे सिलिगुडी बस टर्मिनलबाट साढे २ बजे बस काठमाडौंका लागि छुटेको हो । यात्रु क्षमता ४२ भए पनि बसमा २२ जना यात्रु मात्र थिए । सातैदिन बसले सेवा दिने छ । सिलिगुडीदेखि काठमाडौंको ६ सय ४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्छ । त्यसका लागि यात्रुले १ हजार ५ सय भारु वा २ हजार ४ सय नेपाली रुपैयाँ भाडा तिर्नुपर्छ ।

यसअघि दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएको थियो । नेपाल र भारत दुबै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको थियो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको छ ।




