मेचीनगर । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जनताका बीचमा गाउँघरमा के के हुँदैछ भन्ने कुरा थाहा नहुँने जनप्रतिनिधि नभएर उनीहरु केवल शासक मात्र हुने बताउनुभएको छ ।
शनिबार झापाको मेचीनगरमा मेची कृषक बहुमुखी सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभाको उद्घाटन गदैं प्रमुख अतिथि मन्त्री कार्कीले जनताको मतबाट निर्वाचित भएर आएका हरेक जनप्रतिनिधिलाई शासक नभई जनता सामु लोकप्रिय भएर उनीहरुका पीर मर्का दुःख सुखमा उनीहरुसँगै हिड्न सुझाँव दिनुभयो ।

अहिले मन्त्री, प्रमुख,उपप्रमुख वडाध्यक्षलाई हरेकले शासक हुन् भन्ने सोच्ने गरेको भन्दैं मुलकमा गणतन्त्र प्राप्त भइसकेपछि नयाँ नयाँ शासक बन्ने होड चलेको मन्त्री कार्कीले टिप्पणी गर्नुभयो । उहाँले हरेक जनप्रतिनिधिहरुलाई उत्तरदायित्व बाउनका लागि जनदवाव दिनुपर्नेमा उहाँको जोड थियो । ‘जनदवावले राणाशासन ढल्यो,पञ्चायत ढल्यो २४० वर्षको राजसंस्था ढल्यो ’मन्त्री कार्कीले भन्नुभयो—‘तीनै तहका सरकारलाई अब जनताले दवाव दिने बेला आएको छ ।’ आफ्ना हक, हित अधिकार कहाँबाट प्राप्त हुन्छ त्यही खोज्नुपर्ने भन्दैं मन्त्री कार्कीले कसैले पनि अधिकार सजिलै हस्तानरण नगर्ने भन्दैं अधिकारका लागि संघर्ष गर्नुपर्ने हुन्छ । प्रदेश सरकार हरेक प्रदेशवासीको अधिकार हस्तान्तरण गर्न तयार रहेको उहाँको भनाई छ ।
शासक बन्ने होड चलेकाले गर्दा जनतालाई निराश पैदा भएको भन्दैं उहाँले अहिले जनताले नेता देख्ने वित्तिकै आलोचना गर्न थालेको धारणा राख्नुभयो । गाली पनि गर्ने तर, फेरि नेता नै नभई नहँुने यो सवै अवस्था नेतृत्वको कमजोरीका कारण सिर्जना भएको मन्त्री कार्कीको तर्क थियो । नेतृत्वले बोलीदिने तर, बोलेको कुरा पुरा समयमै पुरा नगर्ने, बोल्ने र व्यवहारमा फरक हुने कारणले गर्दा हामीले भाषण गर्ने तर, व्यवहारमा फरक हुने प्रवृत्तिले गर्दा जनताले नेतालाइ गाली गर्ने अबस्था किन सिर्जना भएको उहाँको भनाई थियो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणि , उत्कृष्ट कृषक, बाल बचतकर्ता , विक्रेता र स्वर्गीय डिगबहादुर पौडेल सहकारी सम्मान ऋषिप्रसाद निरौलालाई प्रदान गरेको थियाे ।




