काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन्।
पहिलो चरणमा सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाले दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए।
पहिलो चरणमा तेस्रो, चौथो र पाँचौ स्थानमा आएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाएका थिए। कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्।

पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो। पहिलो चरणमा देउवाले २२५८ अर्थात ४८ दशमलव २३ प्रतिशत मत प्राप्त गरे भने डा.कोइरालाले १७२९, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत प्राप्त गरेका थिए। कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यदि ५० प्रतिशत नकाटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ।




