Logo

पूर्वी नाकाबाट एकवर्षमा ९६ लाख भन्दा बढीको गोलभेंडा आयात , दुई करोड रुपैयाँ बढीको बन्दाकोपी निर्यात

देश प्रदेश समाचार २० श्रावण २०७८, बुधबार १३:११ मा प्रकाशित

मेचीनगर ।  पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०७७/७८ मा ९६ लाख रुपैयाँको गोलभेंडा (टमाटर) आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र ९६ लाख १६ हजार रुपैयाँ बाहिरिएको हो ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा भारतबाट मात्र ६ सय एक मेट्रिक टन गोलभेंडा (टमाटर) मात्र आयात भएको छ । सोहि अवधिमा पूर्वी नाका काँकरभिट्टाबाट ८ मेट्रिक टन अथवा ८० हजार रुपैयाँ मुल्य बराबरको गोलभेंडा (टमाटर) भारततर्फ निर्यात भएको कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाई छ ।

उनका अनुसार सोहि अवधिमा नेपालबाट ताजा तरकारीमा सवैभन्दा बढी बन्दा कोपी निर्यात भएको छ । कार्यालयका अनुसार २ करोड ४७ लाख ५२ हजार रुपैयाँ मुल्य बराबरको १ हजार ९ सय ४ मेट्रिक टन बन्दाकोपी भारततर्फ निर्यात भएको छ । निकासी व्यपारमा बन्दाकोपीको निर्यातले महत्वपूर्ण टेवा पुर्याउने गरेको छ । पूर्वी पहाडी जिल्ला संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, इलाम, पाचथर, ताप्लेजुङमा व्यवसायिकरुपमा किसानले उत्पादन गररेकोे बन्दा धेरजसो भारतर्फ निर्यात हुने गरेको कार्यालयले जनाएको छ । भारतमा नेपाली बन्दाकोपीको माग उच्च रहेको छ । कहिले काहि त माग अनुसार पूर्ति गर्न नसकिने अवस्था समेत सिर्जना हुने गरेको बताइन्छ ।

कार्यालयका अनुसार पूर्वी नाका काँकरभिट्टाबाट हुने कृषिजन्य वस्तुको आयातभन्दा चारगुणा बढी निर्यात बढेको छ । कार्यालयको तथ्याङक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ । आर्थिक बर्ष २०७६/०७७ मा ५ अर्ब २६ करोड ४ लाख मूल्यको सामाग्री निर्यात भएको थियो भने दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

पूर्वी नाका हुँदै भारत, बंगलादेशमा सबैभन्दा बढी अलैंची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए। उनले अलैंची, चिया, अम्लिसो अन्य कृषिजन्य वस्तुको तुलनामा बढी निर्यात भएको बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?