भद्रपुर । धन भन्दा मन ठुलाे भन्ने उखानलाई झापा जिल्ला कारागारमा कैदि जीवन बिताई रहेका कैदी बन्दीहरुले सार्थक बनाएका छन् ।
केही हप्ता अगाडि सिन्धुपाल्चाेककाे मेलाम्ची बजारमा गएकाे बाढिले ठुलाे जनधनकाे क्षति पुर्याएकाेमा राहत स्वरुप झापा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुले नेपाल सरकारबाट आफुले पाउने दिनकाे ६०/-रुपैयाँ र ७०० ग्राम चामलबाट एकछाक कटाएर नगद रु ५०,१००/-(पचास हजार एमसय मात्र)झापा कारागार प्रमुख राजेन्द्र गाैतमलाई मङ्गलवार हस्तान्तरण गरेका थिए । सो रकम आजै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको बैङ्क खातामा पठाइदिने कारागार प्रमुख गौतमले जानकारी दिए ।गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका ६ वटा बजार तथा मानव बस्तीमा ठुलो धनजनको क्षति पुर्याएको छ । प्राकृतिक प्रकोप र विपत्तिले बर्षोनी नेपालमा ठुलो धनजनको क्षति हुँदै आएको छ । सिन्धुपाल्चोकमा आएको बाढी पहिरोले त्यहाँका पीडित परिवारलाई अहिले देश तथा विदेशबाट सहयोग आइरहेको छ ।
हामी जाे जहाँ रहेपनि हामी सगँ मानविय संवेदना हुनुपर्छ। परिस्थितिले हामी जाहाँ कहि रहन सक्छाै तर एउटा नेपालीलाई चाेट पर्दा अर्को नेपालीलाई दुख्नु पर्छ भन्दै यहि दुखाईकाे कारण सिन्धुपाल्चोकमा गएकाे बाढीले पुर्याएकाे क्षति प्रति समस्त हामी कैदि बन्दीकाे तर्फबाट दुःख व्यक्त गर्दै राहत स्वरुप याे सानाे रमक प्रदान गरेकाे कैदी बन्दी आन्तरिक प्रशासन प्रमुख(चाैकीदार )शेर बहादुर थेवेले वताए । यस्तो अवस्थामा त्यहाँका पीडित परिवारलाई झापाका कैदी बन्दीले पनि थोरै भएपनि केही सहयोग गर्ने उद्देश्यका साथ आर्थिक सङ्कलन गरी रकम पठाएको बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले जानकारी दिए ।




