Logo

कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति

देश प्रदेश समाचार २ असार २०७८, बुधबार १५:५५ मा प्रकाशित

भद्रपुर सरकारले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो । जेठ २८ गते महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालन अनुमति प्रमाणपत्र दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।
महाशाखाले सर्पदंश उपचार केन्द्र स्थापना सम्बन्धी मापदण्ड २०७७ को दफा ६ बमोजिम २०७८ जेठ २८ देखि २०८२ जेठ २७ गते सम्म सञ्चालन अनुमति प्रमाणपत्र दिएइको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।
अनुमति प्रमाणपत्र प्राप्त भइसकेकोले गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सञ्चालनमा ल्याउन लागेको सर्पदंश उपचार केन्द्रको यही असार ३ गते बिहीबार उद्घाटन गरिने कार्यक्रम तय भएको उनको भनाइ छ ।
सङघीय साँसद् तथा झापा क्षेत्र नम्बर ३ का राजेन्द्र प्रसाद लिङ्देनले संसद् कोष र गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले गाउँपालिकाबाट उपचार केन्द्रका लागि अनुमानित २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन कार्य पूरा गरेको थियो ।
गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँबासीले दबाब दिन थालेपछि २०७७ पुस २७ मा नै उपचार केन्द्रको स्वीकृतिका लागि महाशाखामा पत्राचार गरे पनि अनुमति नपाउँदा सञ्चालनमा ढिलाइ भएको थियो ।
गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहुँदा सो क्षेत्रका जनता विषालु सर्पको डसाइबाट अकालमै ज्यान गुमाउँदै आइरहेका छन् । केही दिन अघि मात्र कचनकवल–७ खेरिबारीकी ४३ वर्षीया रामकुमारी कुँवर र कचनकवल ४ स्थित फर्कागाछीका ५९ वर्षीय चवनलाल गणेशको सर्पको टोकाइबाट ज्यान गएको थियो ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?