Logo

मातातिर्थ औंशिमा आमाकाे महत्व ,एक चर्चा

देश प्रदेश समाचार २८ बैशाख २०७८, मंगलवार ०७:५७ मा प्रकाशित

मातृदेवो भव ।।  वैदिक धर्मानुसार र वि.स. अनुसार वैशाख कृष्णपक्ष औंशि तिथिका दिन आमाको मुख हेर्ने पर्वका रुपमा प्रसिद्ध छ । यसदिन आमा हुने छोराछोरीले आमालाई नयाँ वस्त्र, फलफूल ,मिठाई ,दक्षिणासमेत राखी ढोगभेट गरि आशीर्वाद लिने चलन छ । आमा नहुनेले आमालाई सम्झी उनको कल्याणका लागि घरमा अथवा तीर्थस्थलमा गएर तर्पण वा श्राद्ध गर्ने, सिधादान गर्ने र वृद्धाश्रममा गएर वृद्धवृद्धालाई फलफूल,मिठाई , दक्षिणा प्रदान गर्ने , भोजन गराउने तथा लुगाकपडा आदि अर्पण गर्ने चलन छ । संस्कृतको अम्बा शब्दबाट अपभ्रंस भई नेपालीमा आमा शब्द बनेको छ । संस्कृतमा अम्बा शब्दको अर्थ सृष्टिकर्ता देवी ,भगवती आदि हुन्छ । आमा वा माता सबैकी स्रष्टा भएकीले हिन्दु समुदायमा उनलाई सम्मान गर्ने चलन प्राचीनकाल देखि नै चल्दै आएको हो । ´ मातृदेवो भव` , पितृदेवो भव  भन्ने जस्ता उपनिषद् वचनले पनी माता पितालाई सदा सर्वदा आदर गर्नुपर्ने कुरामा सबैलाई सजग बनाएको छ ।
महाभारतमा यक्ष र धर्मराज युधिष्ठिर सम्बादमा मातालाई पृथ्वी भन्दा ठुली र पितालाई आकाशभन्दा ठूलो भनेर उल्लेख गरिएको छ । यसैमा मातृत्वका विभिन्न पक्षमा केही चर्चा गरिन्छ । सृष्टिचक्रलाई अविरल र अविक्षिन्न रुपमा सञ्चालित गराउन परमात्माद्वारा अनेक र विभिन्न वस्तु सृष्टि भएका छन । यसरी सृष्टि वस्तुसमुदायबाट नै सृष्टिचक्र सुचारु रुपले चलेको छ । यस किसिमले सृष्ट वस्तुमा मातृस्नेह एक अनुपम ईश्वरीय वरको रुपमा देखा पर्छ । कुनै शिशुको संरक्षण र सम्बर्द्धनका लागि जन्मजात अवस्थादेखि नै मातृस्नेहको सम्बन्ध अटुट र गहिरो रुपमा हुन्छ । किनभने प्राकृतिक गुण र स्वभाव अनुसार चाहे स्तनपायी होस् चाहे अण्डज सबै किसिमका प्राणिमा मातृस्नेहको सम्बन्ध  उत्तिकै आवस्यक मानिन्छ । यो सम्बन्ध मानिस जस्तो विशिष्ट चेतनशीलवर्ग मात्र होईन त्यसभन्दा कम विकसित पशुजातिमा पनि उत्तिकै अविरल रुपमादेख्न सकिन्छ । समझदारी र चेतनशीलतामा केही कमी भएता पनि अवस्था र स्वरुपको दृष्टिले मानिसभन्दा पक्षी र पशुजगतमा मातृस्नेहको सम्बन्धमा अझ बढी प्रगाढ रुपमा रहेको देख्न पाईन्छ । त्यसैले भगवत् भक्तिका लागि कस्तो सजगता र लगनशील चाहिन्छ यस सम्बन्धमा श्रीमद्भागवतमा भनिएको छ ´ अजातपक्षा इव मातरं खगा:  स्तन्यं यथा वत्सतरा: क्षुधार्ता: ` अर्थात – भोकले सताएको पखेटा न उम्रेका बचराले माउ र स्तनपानका लागि आतुर नवजात बाच्छा- बाच्छीले जसरी आमालाई भेट्न चाहाना राख्छन् त्यसैगरी भक्तले पनि भगवानको प्रिय बन्न सक्छ ।

मातृस्नेह या मातृत्वभावलाई प्राचीनकालदेखि नै अति महत्त्वशाली रुपमा व्यवहार गरिदै आएको देखिन्छ । त्यसैले चेतनशील व्यक्तिविशेष होस् वा अचेतन या स्थावरवस्तु तिनबाट केही लाभ प्राप्त गरेको छ भने त्यसलाई मातृस्थानीय रुपमा प्रशंसा गरिएको छ । ऋग्वेदका ऋचाहरुमा पृथ्वीसित शरीर पोषणका निमित्त विविध किसिमका अन्न उब्जाएर अनि शरीर ढाक्ने वस्त्र निर्माणका साधन दिएर मातृभावले सहयोग गरून् भनेर प्रार्थना गरिएको छ । ´ तन्माता पृथिवी तत्पिता द्यौ: ` आदि  शब्दले । यसैगरी मातृस्थानीय भएर सर्वविधरुपले उपचार गर्ने भएकाले अथर्ववेदमा भूमिलाई मातृरुपमा र आफुलाई पुत्ररुपमा प्रस्तुत गर्दै भनिएको छ – ´ माता भूमि: पुत्रो$हं पृथिव्या :` आदि ।
पूर्वीय धर्मशास्त्रहरुमा  बीजरुपले वर्णित मातृस्नेहका स्वरुप असंख्य रुपले गणना गरिएको पाईन्छ । त्यसैले वैशाखकृष्ण औशी मातृ- अमावास्यको रुपमा हिन्दुधर्मावलम्बी समाजमा प्रसिद्ध छ ।अत: एव ममताकी खानी, वात्सल्यमयी, देवमूर्ती आमाको सेवा गरेर आशीर्वाद लिनु हाम्रो कर्तव्य हो ।

लेखक– राजेन पाैडेल( आचार्य गुरूकुल वेदआश्राम भद्रपुरमा कार्यरत हुनुहुन्छ) 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?