Logo

इँटा उद्योगका कारण कचनकवलका किसानको उठीबास

देश प्रदेश समाचार ६ चैत्र २०७७, शुक्रबार ०८:५० मा प्रकाशित

भद्रपुर    झापाको कचनकवल गाउँपालिकामा सञ्चालित इँटा उद्योगका कारण किसानको उठीबास हुदै आएको छ । माछा पोखरी बनाउने बहानमा खेतियोग्य जमीन खाल्डो बनाएर इँटा उद्योगले माटो लैजान थालेपछि कृषकको उठीबास पक्का भएको हो ।
कचनकवल ६ का स्थानीय कृषकहरुको जग्गा नजिकै रहेको चण्डी इँटा उद्योगले खरिद गरी केही दिनयताबाट माटो लैजान थालेपछि सधिँयारका कृषकले सो कामको बिरोध जनाउँदै आएपनि अवस्था बिग्रदै गइरहेको छ । स्थानीय आसमा साबुद्दिनको एक विघा, बब्लू मियाँबाट साढे ७ कठ्ठा र रमा राजवंशीको ८ कठ्ठा खेतियोग्य जमीनलाइ सो उद्योगले खरिद गरेको थियो । उद्योगले खरिद गरेपछिका सधिँयार मनोज भेटवाल,भद्रीया राजवंशी,अमृत लाल राजवंशीको जमीन जोखिममा परेको छ । सोही क्षेत्रमा पावनी राजवंशीले समेत उब्जनीका लागि ७ कठ्ठा जमीन खरिदका लागि ६ लाख रुपैयाँ अग्रीम रकम दिइसकेकी छन् । यी लगायत दर्जन बढी कृषकहरुको जमीन सो क्षेत्रमा रहेको छ । इँटा उद्योगले प्रहरी प्रशासनको बलमा खेति गरेर खाने किसानमाथि पेटमा लात मारेको जग्गा धनी अमृतलाल राजवंशीले बताए । चलनचल्तीको भन्दा बढी रकममा खरिद गरेर गरिब किसानलाइ पैसाको लोभ देखाएर उद्योगले किसान मारेको उनको भनाइ थियो । गरिव किसानको गरिखाने खेत नै खोला बनाइदिएपछि बाच्ने कुनै आधार नभएको सधिँयार भाद्रीया राजवंशीले बताए । राति राति प्रहरी राखेर उद्योगले माटो लैजाने गरेको उनले बताए । ‘म गोली खान तयार छु तर, उद्योगलाइ माटो लैजान दिन्न उनले भने ।’ जमीन भाडमा लिएर धान तथा डालेघाँस लगाउँदै आइरहेको अवस्थामा उद्योगले माटो लैजान थालेपछि समस्यामा परेको सृजना कृषि फर्मका सञ्चालक तथा सधिँयार मनोज भेटवालको भनाइ छ । खेतको पानी सवै खाल्डो तिर रसाउन थालेपछि भाडामा लिएको जमीनले उब्जनी नदिने उनले बताए । खेतियोग्य जमीनमा सिँचाइ सुविधाका लागि सहकारीले अनुदान स्वरुप पानी तान्ने मटर ,विजुली, सोलार जडान गरी किसानलाइ राहत उपलब्ध गराए पनि इँटा उद्योगका कारण कृषकहरु विचल्लीमा परेको नौलो भविश्य साना किसान सहकारीका प्रवन्धक लक्ष्मी बजगाइँले बताइन् । तत्काल उद्योगले जमीनको माटो लैजना बन्द गरिनु पर्ने उनको भनाइ थियो । गाउँपालिकाले माछा पोखरीका नाममा बर्षेनी बजेट विनीयोजन गर्दै इँटा उद्योगलाइ माटो बेच्ने काम बन्द गरिनु पर्ने वडा नम्बर ६ का अध्यक्ष कुलबहादुर कार्कीले बताए । वार्षिक १८ विघाको माटो गाउँपालिकाबाट उत्खनन भइरहेकोले अबकोे केही वर्षभित्र गाउँपालिका खोलामा परिणत हुने उनले बताए । कचनकवलमा हालसम्म ६ वटा इँटा उद्योग सञ्चालनमा रहेको उनले जनाए ।

व्यवसाय गर्ने उद्देश्यले माटो उत्खनन गरिएको चण्डी इँटा उद्योग सञ्चालक विष्णु घिमिरेले बताए । स्थानीयको अनुमतिमा नै माटो लैजादै आइरहेकोमा केही उचन्ते पेशामा लागेकाहरुको फटाइ भएको उनको भनाइ छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?