दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्रमा दमकमा सुविधासम्पन्न औद्योगिक पार्कले पूर्णता पाउने बताएका छन् ।
झापाको कमल गाउँपालिका ७ मा रहेको झर्कामा आइतबार आयोजना गरिएको चीन –नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षभित्रमा औद्योगिक पार्कको पूर्वाधार पूरा भई दश वर्षभित्रमा पूर्णरुपमा सञ्चालनमा आउने बताए ।
उनले यस औद्योगिक पार्कले दुई वर्षभित्रमा ४५ हजारलाई रोजगारी दिनुका साथैं विश्व वजारसम्म यहाँका उत्पादनले वजार पाउने विश्वास दिलाए ।

सरकारले देशैभरि यस्ता औद्योगिक पार्क स्थापनका लागि काम शुरु गरेको बताउँदै उनले देशैभरिका औद्योगिक पार्कमा रोजगारीसंगै देशमा आर्थिक क्रान्ति आउने कुरामा आश्वस्त पारे । सुखी नेपाली,समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सरकारले प्रशस्त काम गरेको उल्लेख गरे ।
उनले राजनीति कुरा गर्दै पदबाट हटाउन अविश्वासको प्रस्ताव ल्याएर देखाउन चुनौती दिएका छन् । ‘पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री मै हुँ, संसद् पुनर्स्थापना अदालतमा मुद्दा लडेर ल्याउनु भएको छ भने केपी ओलीलाई हटाएर देखाउनुस् उनले भने ।’
अविश्वासको प्रस्ताव राख्नुस्, प्रधानमन्त्रीबाट हटाएर देखाउनुस्, पहिला पनि यस्तै भएकै हो, जनताबाटै फर्किएर फेरि आएको हुँ, ओलीले भने, ‘अहिले फेरि हटाउनु सक्नु भयो भने फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर प्रधानमन्त्री बन्ने दाबी गर्छु ।’




