Logo

कर्मचारी अभावले विकास निर्माण प्रभावित

देश प्रदेश समाचार २६ माघ २०७७, सोमबार १७:४९ मा प्रकाशित

भद्रपुर कर्मचारी अभावका कारण विकास निर्माणका काममा सवै क्षेत्रमा समयमा नै पुग्न नसक्दा समस्या देखिएको छ । साबिक मेची अञ्चलका चार वटा जिल्लामा सञ्चालित योजनाका कामहरूसँगै अनुगमन गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना झापामा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी नहुँदा दैनिकी कामकाज प्रभावित बनेको हो । आयोजनाको दरबन्दी अनुसार तीन जना सब–इन्जिनियर र चार जना इन्जिनियर हुनुपर्ने आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । तर,हाल एक आयोजना प्रमुख, दुई जना इन्जिनियर र एक जना सब इन्जिनियर कार्यरत रहेको उनको भनाइ छ ।
दुई जना इन्जिनियर र एक जना सब इन्जिनियर लिएर कता कताको काम हेर्नु कि अनुगमन गर्नु समस्या भइरहेको उनले जनाए । त्यसमा पनि एक जना इन्जिनियर दमकमा बनिरहेको भ्यु – टावर निर्माणमा खटाएको उनको भनाइ छ । एक जना इन्जिनियर र सब इन्जिनियरलाई आवश्यक परेको ठाउँका खटाइरहेको उनले जानकारी दिए । अनि समस्यासँगै अनुगमनमा आयोजना प्रमुख नै दिनरात खटिरहेको उनले बताए । आयोजना कार्यालय रहेको सदरमुकाम भद्रपुरमै सञ्चालित दुई अर्बको नालासहितको सडक विस्तारको काममा इन्जिनियर खटाउनै समस्या भइरहेको उनले बताए ।
विभागले कम्तीमा दरबन्दी अनुसारको कर्मचारी पठाइदिनु पर्ने उनले जनाए । ।’ ताप्लेजुङ र पाँचथरमा सञ्चालित योजनाको कामहरू हेर्न इन्जिनियर पठाए त्यहाँ गएर फर्किँदा उनीहरूलाई दुई चार दिन त्यसै लागि हाल्ने उनको भनाई छ ।
२०७६ साल पुस १८ गतेदेखि आयोजनाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका खतिवडाले चार जिल्लामा अलपत्र छाडिएका १५ वटा योजनाको कामहरूलाई गति दिएको छ । त्यसमा केही योजनाको सम्पन्न भइसकेको छ, भने केही योजनाको काम तीव्र गतिमा भइरहेको उनले बताए ।
भवन, सडक, पुल लगायत योजनाका काममाथि पटक– पटक गुणस्तरकै प्रश्न उठ्ने गरेकाले दुई जना ल्याब टेक्निसियनलाई दैनिक ज्यालादारीमा नियुक्ति गरेको उनको भनाई छ । ल्याब टेक्निसियन नियुत्ती गरेपछि पहिलाको भन्दा अहिले कामहरू धेरै सुधार आउन थालेको उनले बताए । झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी चार वटा जिल्लामा एक सय बढी योजना सञ्चालनमा रहेको उनले जानकारी दिए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?