झापा । झापामा लागु औषधसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगरबाट सोमबार ९० सिसी लागु औषधसहित दमक नगरपालिका–५ का १५ वर्षीय रमेश राजवंशी पक्राउ परेका छन् । उनी मेचीनगर नगरपालिका–६ को गैरी गाउँबाट पक्राउ परेका हुन्। राजवंशीले आफूले लगाएको ज्याकेटमा लुपिजेसिक ३० सिसी, डाईजोपाम ३० सिसी र प्रोमोथाईजिन ३० सिसी बोकेका थिए ।
त्यस्तै झापामा ब्राउन सुगरसहित थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका–१ बुद्धटोलका ३२ वर्षीय देवेन्द्र राई, गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास र १९ वर्षीय राम साह छन्। उनीहरूको साथबाट २५ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। प्रहरीले उनीहरूको साथबाट मे ७ प ९०८१ नम्बरको मोटरसाइकल, नगद ४ हजार र एउटा मोबाइल बरामद गरेको छ।
त्यसैगरी झापा प्रहरीले लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान पनि गरेको छ। जेल चलान हुनेमा गौरीगञ्ज गाउँपालिका–६ का ३९ वर्षीय जयनारायण राजवंशी छन्। झापा जिल्ला अदालतले २०६४ मङ्सिर ३ गते राजवंशीलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
लोकप्रिय समाचार




