Logo

भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

देश प्रदेश समाचार २४ पुष २०७७, शुक्रबार २१:१४ मा प्रकाशित

काठमाडौ ।  भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् ।

सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ आयातको सिफारिस दिइँदै आएकामा बन्द गरिएको हो ।
देशकै सबैभन्दा बढी कुखुराजन्य वस्तु उत्पादन हुने चितवनका कृषकलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको उहाँले बताउनुभयो । कुखुराको रोगको परीक्षण गर्ने केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला चितवनमा नै छ । प्रयोगशाला प्रमुख डा चेतनाथ खरेलका अनुसार यो प्रयोगशालाको कार्यक्षेत्र देशैभर हो । प्रयोगशालामा कोभिड–१९ परीक्षण गरिएकाले यहाँ सङ्कलन भएका नमूना त्रिपुरेश्वरको पक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइँदै आएको छ ।

प्रयोगशालाले त्यही कृषकले ल्याउने नमूना र आफैँले देशैभरबाट सङ्कलन गर्ने नमूना परीक्षण गर्ने गर्दछ । भारतमा बर्डफ्लु देखा परेसँगै नमूना सङ्कलन बढाइएको उउनले जानकारी दिए । हाल यस प्रयोगशालामा ब्याक्टेरियोलोजी परीक्षण मात्र हुने गरेको छ । मोलीकुलर, एलाइजा, पिसिआर, हिस्टोप्याथोलोजीलगायतका महत्वपूर्ण परीक्षण रोकिएका छन् । त्यस्ता सरदर दैनिक एउटा नमूना काठमाडौँ पठाइँदै आएको छ ।

खरेलले कोभिड–१९ प्रयोगशाला अन्यत्र सारेर पक्षीजन्य परीक्षणलाई यही गर्नका लागि पटकपटक अनुरोध गरिँदै आएको बताए । गएको चैत महिनामा तीन महिनाका लागि त्यहाँ कोभिड–१९ प्रयोगशाला स्थापना गरिएको भए पनि हालसम्म स्थानान्तरण गर्न सकिएको छैन ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले भारतबाट आउने कुखुराजन्य पदार्थ तत्काल रोक्नुपर्ने, सरकारी निकाय चनाखो हुनुपर्ने र कृषक एवं व्यवसायीले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने बताए । नेपालमा कुखुराजन्य पदार्थको मूल्य बढेकाले भारतबाट लुकीछिपी आउने क्रम बढ्दो रहेको भन्दै उनले भने, ‘अहिले डराउनुपर्ने अवस्था नरहे पनि सरकारी र निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा नगरेमा रोग भित्रन सक्छ ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?