Logo

संसद विघटनविरुद्ध अनेरास्ववियूले निकाल्यो लालटिन जुलुस

देश प्रदेश समाचार २२ पुष २०७७, बुधबार १४:३९ मा प्रकाशित

काठमान्डाै । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ ।

‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा पनि लगाएका थिए ।जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

जुलुसमा सहभागी भए पनि पूर्वमन्त्री भट्टराईले भने कोणसभालाई सम्बोधन गरेनन् ।काठमाडौं उपत्यकामा लालटिन बालेर जुलुस प्रदर्शन गरिए पनि काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा लालटिन, सिटी वा लाठी जुलुस निकालेर विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए । अनलाइन खबरबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?