Logo

भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा मङ्गलबार हुने

देश प्रदेश समाचार ६ पुष २०७७, सोमबार १५:३८ मा प्रकाशित

भद्रपुर बालबालिका सबैका प्यारा, बालमैत्री नगर हाम्रो अभिभारा भन्ने मुल नाराका साथ भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा हुन लागेको छ ।
नेपालको पाँचौं र प्रदेश नम्बर १ को पहिलो स्थानीय तहको रुपमा जिल्लाकै सदमुकाम रहेको भद्रपुर नगरपालिका यही पुस ७ गते बालमैत्री नगर घोषणा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मलेन मार्फत नगरपालिकाले जानकारी गराएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालमैत्री नगर घोषणा गर्ने कार्यक्रममा रहेको जनाइएको छ । बालमैत्री नगर घोषणाका लागि प्रदेश नम्बर १ सरकार र जिल्ला समन्वय समिति झापाले स्वीकृत प्रदान गरिसकेको नगरपालिकाका उपमेयर चन्द्रामाया श्रेष्ठले जानकारी दिइन् ।
२०७४ साल मङसिर ३ र ४ गतेबाट भद्रपुर नगरपालिकाले बालमैत्री अवधारणा अवलम्बन गरी रणनीतिक कार्ययोजनाका साथ घोषणाउन्मुख अभियान सञ्चालन सुरु गरेको थियो ।
नगरलाई बालमैत्री घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम सरकारले निर्धारण गरेको ३९ सूचकमा तोकिएको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम बालमैत्री वडा र नगर घोषणाका लागि भद्रपुरले २१ वटा सूचकमा सत प्रतिशत र १८ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरिसकेको बालमैत्रीका फोकल पर्सन टीकाराम(दिपक) पाण्डेले जानकारी दिए । उनका अनुसार बालमैत्री नगर घोषणा पश्चात पनि नगरपालिकाले १६ वटा खुडकिला अझै पार गर्नु पर्ने बताए ।
बालमैत्री नगरका लागि ५ बर्षीय गुरुयोजनाका करिब ६ करोड बजेट छुट्टाएर नगरपालिका अघि बढी सकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले जानकारी दिए । भद्रपुरमा १६ हजार १५ घरधुरी रहेको छ । नगरको कुल जनसङ्ख्या महिला र पुरुष गरी ७१ हजार ६५१ रहेको छ । बालबालिकाको सङ्ख्या २२ हजार ११२ रहेकोमा बालक ११ हजार ३४९ र बालिका १० हजार ७६३ रहेको छ । कुल जनसङ्ख्यामा ३० दशमलव ८६ प्रतिशत बालबालिकाको हिस्सा रहेको नगरपालिकाका सामाजिक शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?