Logo

ओलीको प्रस्ताव प्रचण्डलाई: माधवले धोका दिन्छन्, हामी मिलौं

देश प्रदेश समाचार २४ मंसिर २०७७, बुधबार २२:१९ मा प्रकाशित

काठमान्डाै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका छन् ।

आफ्नो सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् । उच्च स्रोतका अनुसार, ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त थियाे । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो ।जवाफमा प्रचण्डले भने हामी दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् ।

‘माधव कमरेडलाई म राम्ररी चिन्छु । तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’ प्रचण्डको भनाइ थियो, ‘३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं । सँगसँगै लडेका छौं ।’

विद्यार्थी, शिक्षक र मजदुरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको प्रचण्डले संस्मरण गरेका थिए । प्रचण्डले जनयुद्ध कालदेखि शान्ति प्रक्रियासम्म एमालेको प्रमुख नेताका रुपमा संगत गरेको ओलीलाई बताएका थिए ।

पूर्वएमाले मिल्ने भन्दै माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीकै प्रस्ताव गर्दा पनि नमानेको प्रशंग ल्याउँदै प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेको स्रोतले जनायो । तर अध्यक्ष ओलीले भने ‘अझै सोच्नूस्’ भनेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?