भद्रपुर । लागुऔषध ब्राउन सुगरसहित आठ जना पक्राउ परेका छन् । छ जना भद्रपुर र दुई जना कनकाईबाट पक्राउ परेका हुन । त्यसमा दुई जना भारतीय नागरिक रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । लागु औषधसहित पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ४ बस्ने १९ बर्षीय पुष्कर थापा, सोही ठाउँका २१ बर्षीय राजन माझी, भद्रपुर- ५ बस्ने २६ बर्षीय मदन विक, हल्दिवारी गाउँपालिका- १ बस्ने लोकेन्द्र गुराँगाई रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । उनीहरु लागु औषधको कारोबार गर्नेमा संलग्न भएको खुलेको छ ।
भद्रपुर- ४ स्थित डाँगीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुको साथबाट ७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको थियो ।
त्यस पश्चात उनीहरुले दिएको बयानको आधारमा प्रहरीले आइतबार विहान थप दुई जना भारतीय नागरिकलाई ब्राउन सुगरसहित सोही नाकाबाट पक्राउ परेको डिएसपी थापाले जानकारी दिए । पक्राउ पर्नेमा भारतको बिहार राज्य किशनगञ्ज जिल्ला गलगलिया ४ बस्ने १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेको उनले बताए ।
प्रहरीले उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरेको थियो । यता पक्राउ परेका छ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । आज झापा जिल्ला अदालतबाट म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइसकेको जनाइएको छ ।
त्यस्तैगरी शिवसताक्षीमा २३ ग्राम ब्राउन सुगरसहित दुई जना शनिबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक ध्रुबनारायण श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका- ६ स्थित हवल्दार चौकमा मे ५ प ५०३२ नम्बरको मोटरसाइकलमा आउँदै गरेको चालक शिवसताक्षी ४ बस्ने २६ बर्षीय श्याम मर्डी र पछाडि सवार सोही ठाउँका ३५ बर्षीय गंगाराम कायस्थलाई रोकी चेकजाँच गर्दा निजहरुको साथबाट २३ ग्राम ब्राउनसुगर, मोबाईल थान २ र नगद एक लाख ८४ हजार रुपैयाँ बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।




