भद्रपुर । कनकाई नगरपालिका– ३ एकान्तटोलका अभिषेक चौधरीको हत्यामा संलग्न कनकाई नगरपालिका – ७ का टल्के भनिने २२ वर्षिय रविन राजवंशीलाई शव फेला परेको दिन नै पक्राउ गरेको छ । बुधबार विहान कनपा –३ एकान्त टोल नजिकै सुरुङगा खोलाको बाँस घारीमा २२ वर्षीय चौधरीको हत्यामा संलग्न भएको आरोपमा राजवंशीलाई प्रहरीले बुधबार बेलुका नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बञ्चरोले हानेर चौधरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राजवंशीले चौधरीको हत्या आफैँले गरेको स्वीकार गरेको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताए । हत्यामा संलग्नले घटनास्थलमा छोडेका प्रमाणका आधारमा छोटो समयमा नै हत्यारालाई पक्राउ गर्न सफल भएको उनको भनाइ छ हत्याको कारण दुव्र्यसनी देखिएको उनले बताए ।
मृतक चौधरी मंगलबार साँझ घरबाट निस्केका थिए । त्यसपछि चौधरी र राजवंशीको भेट भएको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । गाँजा खाने विषयमा भएको विवादको कारण चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । भेट भएपछि चौधरीले १ सय रुपैयाँ दिएर राजवंशीलाई गाँजा लिन पठाएको र गाँजा ल्याएपछि चौधरीले खान नदिने भनेपछि सामान्य विवाद भएको अनुसन्धानबाट खुलेको डिएसपी रिजालले बताए । विवाद भएको समयमा चौधरी, राजवंशी र अरु साथीहरु पनि सँगै भएको खुलेको छ, विवाद पछि राजवंशीले घर गएर बञ्चरो ल्याइ भुँइमा एक्लै बसेर लागुऔषध बनाइरहेका चौधरीलाई पछाडिबाट बञ्चरो प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न राजवंशी हत्यापश्चात फरार थिए । उनलाई खोजतलास गर्ने क्रम बुधबार साँझ कनकाई नगरपालिका– ७ त्रिवेणी विकास टोलबाट पक्राउ गरिएको प्रमुख रिजालले बताए । हत्यामा प्रयोग गरिएको बञ्चरो, घटनास्थल नजिकै भेटिएको राजवंशीको चप्पल र हत्या गरिएको समयमा लगाएको कपडा प्रहरीले बरामद गरेको छ । आरोपितलाइ विहबिार म्याद थप गरी कारबाही अगाडि बढाइने एसपी कोइरालाले जानकारी दिए ।




