राजगढ। कोरोना भाइसर कोभिड १९ को कारण देखाउँदै बजारमा महंगी चुलिएका बेला दक्षिणी झापाको राजगढमा जिल्लाकै सस्तो बजार दावी गर्दै एक व्यक्तिले एक करोड ५० लाख रुपैयाँ लगानी गर्दै ‘सपिङ मल’ सञ्चालनमा ल्याएका छन् ।
लामो समयसम्म बैदेसिक रोजगारीमा रहेर स्वदेश फर्किएका बाह्रदशी गाउँपालिका – २ का चान महमदले राजगढ बजारमा एभरेष्ट सस्तो बजारका नामबाट सपिङ मल सञ्चालनमा ल्याएका हुन् ।

सबै प्रकारका उच्च स्तरीय सामग्री एउटै छानामुनी सुपथ मूल्यमा पाइने र सस्तो वजारमा खरिद गरेको सामग्री अन्य ठाउँमा खरिद गरेको भन्दा कम मूल्यमा प्रदान गरिने सञ्चालक महमदको दावी छ ।
सस्तो बजारका नामबाट सञ्चालनमा आएको सपिङ मलको उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरेका छन् ।
विदेशी अनुभव संगालेर फर्किएकाले स्वादेशमा राम्रो सामग्री सुपथ मूल्यमा प्रदान गर्न कुनै कन्ज्युसाई नगर्ने सञ्चालक महमदको भनाई छ ।
वजार सञ्चालनमा आएपनि राजगढ लगायत दक्षिण क्षेत्रका सर्वसाधारण किनमेलका लागि बिर्तामोड लगायतका अन्य वजार जानु नपर्ने पशुपति माध्यमिक विद्यालयका शिक्षक मोहनप्रसाद ओलीले बताए ।
विदेशमा आर्जन गरेको ज्ञानलाई स्वदेशमा लगानी गर्दै सेवा मुलक ढंगले अघि बढ्दा लगानी कर्ता मात्र होइन यसले राजगढबासी मात्र होइन दक्षिण क्षेत्रका सबैलाई फाइदा पुग्ने स्थानीय जगदीश घिमिरेले बताएका छन् । यस अघि महमदले नै साढे चार करोड रुपैयाँ लगानी गर्दै स्मार्ट सिटीका रुपमा परिचित राजगढमा एभरेष्ट सिनेमाहल समेत सञ्चालनमा ल्याएका थिए ।
जिल्लाकै पुरानो वजारका रुपमा परिचित राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न गाउँपालिकाले समेत विशेष गुरु योजना बनाएर अघि बढेको छ ।




